काठमाडौँ । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई म्याद नथपी रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ। आइतबार राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएकोमा अदालतले म्याद थप्न अस्विकार गर्दै छाड्ने आदेश दिएको हो।
प्रहरीले प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयमार्फत साइबर अपराध, राज्यविरुद्धको कसुर (सार्वजनिक नैतिकता तथा शिष्टाचार विरुद्धको कसुर) र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन वटा छुट्टाछुट्टै मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद माग गरेको थियो।
तर, अदालतले प्रहरीको म्याद थपको मागलाई अस्वीकार गर्दै उनलाई नियन्त्रणमुक्त गर्न आदेश दिएपछि प्रसाईं रिहा हुने भएका हुन्। अदालतको आदेशसँगै प्रहरीले उनको रिहाइको कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाएको जनाएको छ।