काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताहरूबीच सोमबार ललितपुरमा राजनीतिक छलफल भएको छ।
छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनललगायत अन्य नेताहरू पनि सहभागी रहेको जनाइएको छ।
बैठकमा कुन विषयमा छलफल भइरहेको भन्नेबारे सहभागी नेताहरूले खुलाएका छैनन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले आफूहरू छलफलकै चरणमा रहेको र निष्कर्षमा पुगेपछि मात्रै औपचारिक जानकारी दिइने बताए।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि बैठक जारी रहेको पुष्टि गर्दै हालसम्म कुनै ठोस निष्कर्ष ननिस्किएको जानकारी दिएका छन्।
राजनीतिक वृत्तमा भने पछिल्लो विकसित घटनाक्रम, विपक्षी दलबीचको सम्भावित सहकार्य र समसामयिक राष्ट्रिय राजनीतिक विषयमा केन्द्रित भएर छलफल भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि सहभागी नेताहरूले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।