काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूलाई तत्काल आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिएका छन् ।
सुनसरी र मधेसका विभिन्न भागमा भइरहेको प्रदर्शन तथा बढ्दो साम्प्रदायिक तनावबारे बिहीबार सिंहदरबारमा दुवै प्रदेशका सांसदहरूसँग भएको छलफलका क्रममा सभापति लामिछानेले यस्तो कडा निर्देशन दिएका छन् ।
बैठकमा सभापति लामिछानेले विषम परिस्थितिमा जनप्रतिनिधिहरू आफ्ना जनताको माझमै हुनुपर्नेमा जोड दिए । उनले भने, “तपाईंहरू तत्काल आ–आफ्नो निर्वाचन क्षेत्र गएर परिस्थिति सम्हाल्न लाग्नुस्। स्थानीय समाजका अगुवाहरूसँग निरन्तर संवाद र छलफल गर्नुस्,“ लामिछानेको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने, “यस्तो संवेदनशील समयमा कसैले पनि तनावलाई थप बल पुग्ने वा सामाजिक सद्भाव भड्किने किसिमका अभिव्यक्ति नदिनुहोला।“
सभापति लामिछानेले अशान्त र तनावग्रस्त बनेको समयमा क्षेत्रका जनताले आफ्ना प्रतिनिधि तथा अभिभावक खोज्ने भएकाले ढिलाइ नगरी आ–आफ्नो भूगोलमा पुगेर शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्न आग्रह गरेका छन् ।