जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशमा विकसित पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गर्दै नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बिहीबार जनकपुरधाममा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सम्पत्तिको संरक्षण, कानुनी शासनको पालना र शान्ति सुरक्षाको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सुरक्षा चुनौतीको गम्भीर समीक्षा गरिएको छ। सम्भावित सुरक्षा जोखिमको रोकथाम र व्यवस्थापनका लागि सुरक्षा निकाय तथा स्थानीय तहसँग पूर्ण समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता सरकारले जनाएको छ।
साथै, पछिल्ला घटनाहरूमा परी घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक सम्पूर्ण सहयोग र प्रबन्ध मिलाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव तथा धार्मिक–सांस्कृतिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, बुद्धिजीवी र आम नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ।
विशेष गरी सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट समाजमा भ्रम, हिंसा वा अशान्ति फैलाउने खालका सामग्री सम्प्रेषण नगर्न र केवल आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न मधेस प्रदेश सरकारले सबैमा हार्दिक अपिल गरेको छ।
