काठमाडौँ । सुनसरीबाट सुरु भई मधेसका विभिन्न जिल्लाहरूमा अशान्त वातावरण र साम्प्रदायिक संवेदनशीलता बढेपछि मधेसकेन्द्रित दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालयमा मधेसमा पछिल्लो समय बिग्रँदै गएको शान्ति सुरक्षाको अवस्था र उत्पन्न परिस्थितिबारे समीक्षा गर्न शीर्ष नेताहरूको बैठक बसेको हो।
मधेसका विभिन्न भागमा हिंसा र तनाव फैलिएपछि यस समस्याको समाधानका लागि मधेसकेन्द्रित दलहरूका बीचमा साझा धारणा बनाउन बैठक आयोजना गरिएको हो।
छलफलमा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष जयकान्त राउत तथा संविधानसभा सदस्य रामकुमार शर्मालगायतका नेताहरूको सहभागिता रहेको छ।
बैठकले मधेसमा सामाजिक सद्भाव कायम राख्न र स्थिति सामान्य बनाउन सरकारलाई दबाब दिने तथा सर्वसाधारणलाई संयमता अपनाउन अपिल गर्ने तयारी गरेको छ।