काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाका विभिन्न मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि लागू भई भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको हो।
प्रशासनले वीरगञ्ज महानगरपालिकाभित्रका पूर्वमा प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक, दक्षिणमा शंकराचार्य गेट क्षेत्रहरूलाई चार किल्ला तोकेर प्रदर्शनमा रोक लगाएको छ ।
तोकिएको यस सीमाभित्र ५ जनाभन्दा बढी मानिसहरू भेला हुन, सभा, जुलुस, घेराउ तथा कुनै पनि किसिमको प्रदर्शन वा घेराबन्दी गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनको आदेश उल्लङ्घन गरेमा कानुनबमोजिम कडा कारबाही गरिने पर्सा प्रशासनले जनाएको छ।
