काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको उच्चस्तरीय भेटवार्तापछि मन्त्रीद्वय सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जतर्फ जान लागेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार गृहमन्त्री गुरुङ र मन्त्री मेहताले गत साउन १० गते सुनसरीमा भएको दोहोरो झडपका क्रममा ज्यान गुमाएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका शोकसन्तप्त परिवारजनसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
मन्त्रीद्वयले स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख तथा पीडित परिवारसँग भेट गरी क्षेत्रको शान्ति सुरक्षाको अवस्था बुझ्ने र स्थिति सामान्य बनाउन आवश्यक कदम चाल्ने जनाइएको छ।