काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूको आकस्मिक बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीबार पौने ५ बजेदेखि सुरु हुने गरी सांसदहरूलाई छलफलका लागि बोलाइएको हो। पछिल्लो समय सुनसरी तथा मधेस प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको अशान्त वातावरण र उत्पन्न सुरक्षा चुनौतीका विषयमा छलफल गर्न सभापति लामिछानेले यो बैठक बोलाएका छन्।
संसदीय दलका अनुसार सभापति लामिछानेले दुवै प्रदेशका सबै सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ‘विशेष निर्देश’सहित सर्कुलर जारी गरिएको छ । बैठकमा विकसित घटनाक्रमबारे मधेस र कोशी प्रदेशका सांसदहरूसँग विस्तृत छलफल गरी उनीहरूलाई विशेष निर्देश, मार्गदर्शन र आवश्यक अपिल गरिने रास्वपा संसदीय दलले जनाएको छ।