काठमाडौँ । सरकारले विभिन्न ९ वटा विधेयकहरू सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठक लगत्तै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।
संसद्मा पेस गरिने ९ विधेयकहरू
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक
खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
सङ्क्रामक पशुरोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक
बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधेयक
आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक
कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक
यसै गरी, मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरिएको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय भएको छ।