काठमाडौँ । सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीले पदीय मर्यादा विपरीत गैरकानुनी रूपमा अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले चौधरी र उनकी श्रीमती अर्पना कुमारीविरुद्ध २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।
आयोगले इन्जिनियर चौधरी सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०६५ पुष ११ देखि २०८२ असार २९ सम्मको अवधिलाई जाँच अवधि कायम गरी आय–व्ययको विश्लेषण गरेको थियो। सो अवधिमा उनको पारिश्रमिक, जग्गा बिक्री, श्रीमतीको आय, बैंक कर्जा, घरबहाल, ब्याज आय, कृषि आय, तथा बुबाको पेन्सनसमेत गरी कुल वैधानिक आय २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा रहेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख गरेको छ ।
तर, सोही अवधिमा जग्गा, घर, सवारी साधन तथा ट्रयाक्टर खरिद, जीवन बिमा शुल्क, छोराछोरीको अध्ययन खर्च, शेयर र सुन खरिद, तथा बैंक मौज्दातसमेत गरी कुल व्यय (खर्च तथा लगानी) ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा देखिएको आयोगले जनाएको छ। चौधरीको कुल वैधानिक आयको तुलनामा अस्वाभाविक रूपमा बढी देखिएको २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्तिको वैध स्रोत पुष्टि हुन सकेन।
इन्जिनियर चौधरीले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा अमिल्दो÷अस्वाभाविक विवरण पेस गरेको पुष्टि भएको आयोगको निष्कर्ष छ।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१) र दफा १६ (२) बमोजिमको कसुरमा बिगोबमोजिम जरिवाना, कैद सजाय र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पूर्ण सम्पत्ति जफत गर्न मागदाबी गरेको छ। साथै, गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति श्रीमती अर्पना कुमारीको नाममा समेत खरिद गरी राखिएकाले सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र उनलाई पनि प्रतिवादी बनाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।