काठमाडौँ । नेपाली कांग्रेसले पूर्व उपप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिने शोक कार्यक्रमको घोषणा गरेको छ। मङ्गलवार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोक कार्यक्रम तय गरेको हो।
लामो समयदेखि उपचाररत नेता श्रेष्ठको साउन १२ गते ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा निधन भएको थियो।
बैठकले पारित गरेको निर्णयअनुसार साउन १३, १४ र १५ गते गरी तीन दिनसम्म नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश तथा सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ। साथै, साउन १४ गते बिहीबार देशभरका सबै पार्टी कार्यालयहरू बन्द रहने निर्णयसमेत गरिएको छ।
पार्टीले स्वर्गीय श्रेष्ठको योगदानको सम्मान गर्दै निधन भएको दिनदेखि १३ औँ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने जनाएको छ।
त्यसैगरी, १३ औँ दिनमा श्रेष्ठको गृह जिल्ला स्याङ्जास्थित कालीगण्डकीको राम्दीघाटमा अस्तु विसर्जन गरिने र सोही दिन जिल्लामा शोकसभाको आयोजना गरिने कांग्रेसले जानकारी दिएको छ।