काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको रिक्त पदाधिकारी चयन प्रक्रियालाई अन्तिम रूप दिने तयारी तीव्र बनाएको छ। स्रोतका अनुसार गृहमन्त्री तथा रास्वपा नेता सुधन गुरुङलाई उपसभापति बनाउने विषयमा नेतृत्व तहमा सकारात्मक छलफल भएको छ। यसअघि उक्त पदका लागि प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह निकट अन्य नेताहरूको नाम चर्चामा रहे पनि पछिल्लो छलफलपछि गुरुङको सम्भावना बलियो बनेको बताइएको छ।
पार्टीभित्र समावेशितालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै वरिष्ठ नेता बालेन्द्र शाहले गुरुङको नाम प्रस्ताव गरेको र त्यसमा सभापति रवि लामिछाने पनि सकारात्मक देखिएको स्रोतको दाबी छ। दुई नेताबीचको छलफलपछि गुरुङले सभापति लामिछानेलाई भेटेका थिए।
बुधबार बस्दै केन्द्रीय समिति बैठक
चितवनमा सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि रास्वपाको केन्द्रीय समिति अझै पूर्ण भइसकेको छैन। यही प्रक्रिया टुंग्याउन पार्टीले बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ।
चःमतीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनको समीक्षा, संगठनात्मक व्यवस्थापन, आवश्यक कार्यविधिको परिमार्जन, सभापतिको राजनीतिक प्रतिवेदन तथा आगामी अभियानबारे छलफल हुने कार्यसूची तय गरिएको छ।
पदाधिकारी र केन्द्रीय सदस्य चयनमा केन्द्रित छलफल
बैठकको मुख्य एजेन्डा भने बाँकी रहेका ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको मनोनयन रहनेछ। पार्टी विधानअनुसार यी पदमा मनोनयन गर्ने अधिकार सभापतिसँग भएकाले सभापति रवि लामिछानेले प्रस्तावित सूची बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन्।
यद्यपि मनोनयनलाई केवल संगठन विस्तारको प्रक्रिया मात्र नभई पार्टीभित्रको शक्ति सन्तुलनसँग जोडेर पनि हेरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह पक्षले आफ्नो समूहबाट उल्लेख्य संख्यामा केन्द्रीय सदस्य समावेश गर्नुपर्ने माग राख्दै २४ जनाभन्दा बढीको नाम सिफारिस गरेको छ। यही कारण अन्तिम सूची विभिन्न पक्षबीचको सहमतिका आधारमा तय हुने सम्भावना रहेको बताइन्छ।
त्यस्तै सचिवालय, केन्द्रीय समिति र विभिन्न विभागमा पनि सबै समूहको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दबाब नेतृत्वमाथि रहेको स्रोतको भनाइ छ।
सबै समूहलाई प्रतिनिधित्व दिने चुनौती
महाधिवेशनबाट सात पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् भने बाँकी पद मनोनयनमार्फत पूर्ति गरिनेछ। अन्तिम सूची सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीचको सहमतिपछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
रास्वपामा प्रतिनिधिसभा निर्वाचनअघि बालेन समूह, विवेकशील साझा, उज्यालो नेपाल, जेनजी, थारुहट–थारुवान तथा दलित समुदायसँग आबद्ध विभिन्न समूह समाहित भएकाले मनोनयन प्रक्रियामा ती सबै पक्षलाई उचित प्रतिनिधित्व दिनुपर्ने दबाब रहेको छ।
हालसम्म सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले, अर्को उपसभापतिमा सोविता गौतम तथा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भइसकेका छन्। वरिष्ठ नेतामा बालेन्द्र शाहको मनोनयन हुने लगभग निश्चित मानिएको छ भने अर्को महामन्त्री पदका लागि भुपदेव शाहको नाम पनि चर्चामा रहेको स्रोतको दाबी छ।