काठमाडौँ । नेपालको पूर्वी जिल्ला सुनसरी लगायतका क्षेत्रमा हालै घटेका दुखद् घटना र त्यसले निम्त्याएको तनावपूर्ण स्थितिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा यस घटनाबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको उल्लेख छ।
रास्वपाले घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गरेको छ। साथै, झडप तथा घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
हिंसा र मुठभेडबाट कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हुन नसक्ने स्पष्ट पार्दै रास्वपाले नेपाली समाजको मुख्य शक्ति बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भाव रहेको दोहो¥याएको छ।
विज्ञप्तिमा भनिएको छ, “सामाजिक सहिष्णुतामा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न÷नगराउन हामी सम्पूर्ण आम नागरिक, नागरिक अगुआ, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौँ। कुनै पनि प्रकारका उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो।”
रास्वपाले यस संवेदनशील परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न र स्थितिलाई सामान्य बनाउन सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण गरिरहेको जनाएको छ।
पार्टीले घटनाको जडसम्म पुगी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति तथा निःशुल्क उपचार उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
यस दुखद् घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गरिएको छ।
साथै, रास्वपाले आफ्ना स्थानीय समितिका सम्पूर्ण सदस्यहरू लगायत सबैलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न विज्ञप्तिमार्फत विशेष निर्देशन दिएको छ।
