धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै नयाँ सरकार गठनको वातावरण बनेको हो।
सहमतिअनुसार नयाँ सरकारको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्नेछ भने संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ।
सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि खगराज भट्टसहित दुवै दलका प्रदेशस्तरीय नेताहरू काठमाडौँमा रहेका छन्। शीर्ष नेतृत्वसँगको परामर्शपछि मन्त्रालयको भागबण्डा टुङ्गो लगाइने र त्यसपछि सम्बन्धित दलहरूले मन्त्रीहरूको नाम चयन गर्ने बताइएको छ।
वर्तमान मुख्यमन्त्री कमलबहादुर शाह सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएपछि गत असार ३१ गतेदेखि अल्पमतको सरकार चलाइरहेका छन्। समर्थन फिर्तासँगै प्रदेशको बजेटसमेत अन्योलमा परेको छ।
५१ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी र एमालेसँग नयाँ सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत छ।
संविधानअनुसार समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने व्यवस्था भए पनि प्रदेशलाई लामो समय बजेटविहीन नबनाउन मुख्यमन्त्री शाहलाई पूर्ववत् राजीनामा दिएर निकास दिन आग्रह गरिने नेताहरूले बताएका छन्।