काठमाडौँ । उज्यालो नेपाल पार्टीको तीनदिने केन्द्रीय समिति बैठकले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा हरित विकासलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउने निर्णय गरेको छ।
साउन ९ देखि ११ गतेसम्म काठमाडौँस्थित ‘उज्यालो घर’मा सम्पन्न बैठकमा समसामयिक राजनीति, आर्थिक अवस्था, कृषि, ऊर्जा, सहकारी पीडित, युवा पलायन, सुशासन र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरिएको पार्टीले जनाएको छ। बैठकले विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको पनि जानकारी दिएको छ। पार्टीले राजनीतिक परिवर्तनपछि अब मुलुक आर्थिक रूपान्तरण, सुशासन र नागरिकको जीवनस्तर सुधारतर्फ केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ। बेरोजगारी, युवाको विदेश पलायन, कृषि क्षेत्रको संकट, उत्पादनमा कमी, भ्रष्टाचार, प्रशासनिक कमजोरी र लगानीमैत्री वातावरणको अभावलाई वर्तमानका प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।
उज्यालो नेपाल पार्टीले प्राकृतिक स्रोत, मानव पूँजी र आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्दै आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्ने उद्देश्यसहित ‘हरितक्रान्ति, समृद्धि र शान्तिको राष्ट्रिय मार्ग’ अघि सारेको जनाएको छ। पार्टीका अनुसार हरितक्रान्ति वातावरण संरक्षणमा मात्र सीमित नभई कृषि, ऊर्जा, उद्योग, पर्यटन, पूर्वाधार तथा उत्पादन प्रणालीको समग्र आधुनिकीकरणसँग जोडिएको अभियान हो। बैठकले सरकारप्रतिको आफ्नो दृष्टिकोण सकारात्मक काममा सहयोग गर्ने र जनहितविपरीतका निर्णय, भ्रष्टाचार तथा कमजोर कार्यसम्पादनविरुद्ध लोकतान्त्रिक रूपमा आवाज उठाउने रहने स्पष्ट गरेको छ। साथै, राज्य सञ्चालनमा संस्थागत लोकतन्त्र, कानुनको शासन र पारदर्शितालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ।
कृषि क्षेत्रलाई सुदृढ बनाउन किसानलाई गुणस्तरीय मल, बीउ, कृषि सामग्री, उचित बजार तथा समर्थन मूल्य उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। त्यस्तै सहकारी ठगी, लघुवित्त र मिटरब्याजबाट पीडित नागरिकको समस्या शीघ्र समाधान गर्न तथा दोषीमाथि कानुनी कारबाही गरी पीडितको रकम फिर्ता गराउन पनि आग्रह गरिएको छ। बैठकले काठमाडौँलगायतका विभिन्न स्थानमा सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा मानवीय पक्षलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै दीर्घकालीन पुनर्स्थापना योजनाको आवश्यकता औँल्याएको छ। ऊर्जा क्षेत्रबारे पार्टीले विद्युत उत्पादनसँगै स्वदेशमै विद्युतको खपत बढाउने नीति अवलम्बन गर्नुपर्ने धारणा राखेको छ। विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्नुपर्ने अवस्थामा कर वृद्धि गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यस्तो नीति पुनर्विचार गर्न आग्रह गरेको छ। साथै, डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगबाट बाँकी विद्युत महसुल कानुनअनुसार असुल गर्न सरकार गम्भीर हुनुपर्ने जनाएको छ। विद्युत उपभोग तथा राइड सेयरिङ सेवामा लगाइएका कर फिर्ता लिन, बजार अनुगमनलाई प्रभावकारी बनाउन र उपभोक्ता हितको संरक्षण गर्न पनि बैठकले सरकारसँग माग गरेको छ।
परराष्ट्र नीतिको सन्दर्भमा बैठकले संस्थागत कूटनीतिक अभ्यासलाई सुदृढ बनाउँदै बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनबीच नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीति सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। बैठकले संगठन विस्तार, सदस्यता अभियान र वैचारिक सुदृढीकरणलाई तीव्रता दिँदै उज्यालो नेपाल पार्टीलाई दीर्घकालीन राष्ट्रिय रूपान्तरणको नेतृत्व गर्न सक्ने वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकास गर्ने निर्णय पनि गरेको छ। पार्टीले बढ्दो जनअसन्तोष, युवाको निराशा र राज्यप्रतिको घट्दो विश्वासलाई सम्बोधन गर्न परिणाममुखी राजनीतिमा जोड दिने प्रतिबद्धता जनाएको छ।