काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डीपी अर्याल र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सहसचेतकहरूबिच आगामी संसद् बैठकलाई मर्यादित र प्रभावकारी बनाउनेबारे छलफल भएको छ।
मङ्गलबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा आगामी साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकलाई अनुशासित र नतिजामुखी ढङ्गले अघि बढाउने सहमति भएको हो।
बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सचेतक क्रान्तिशिखा धितालले संसद्लाई मर्यादित बनाउनुका साथै प्रधानमन्त्रीको उपस्थितिबारे प्रतिपक्षले उठाएका प्रश्नहरूबारे छलफल भइरहेको जानकारी दिइन्। सरकारले धेरै कानुनहरू निर्माणको तयारी गरिरहेकाले संसद्मा बिजनेशको अभाव नहुने उनले बताइन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले साउन १४ देखि बैठक सुरु हुने भए पनि दर्ता भएका विधेयकहरूको अवस्थाबारे सभामुखको ध्यानाकर्षण गराइएको बताए।
रास्वपाका प्रमुख सचेतक प्रकाशचन्द्र परियारका अनुसार जनताका जनजीविकासँग जोडिएका सवाल र विधेयकहरूमाथि संसद्मा बृहत्तर छलफल गर्नेबारे फलदायी वार्ता भएको छ।
उनले संसद्को कामकारबाही र बिजनेस चुस्त बनाएर परिणाममुखी सन्देश दिन लागिपरेको बताउँदै आगामी संसद् बैठक दसैँको मुखसम्मै निरन्तर सञ्चालन हुने जानकारी दिए।