काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबिच तनाव उत्पन्न भएपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि नेता बाँस्कोटाले गृहमन्त्रीप्रति कडा आपत्ति जनाउँदै राजीनामा मागेका हुन्।
उक्त घटनामा प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन्। स्थानीय प्रशासनले कफ्र्यू जारी गरे पनि तोडफोड र आगजनी नरोकिएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना ब्यारेकबाट बाहिरिएको छ।
घटनालाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बाँस्कोटाले गृहमन्त्री र सञ्चारमाध्यममाथि कटाक्ष गरेका छन्। उनले लेखेका छन्, “सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन्। पानी पिउँदै भन्छ– हाम्रा भाइबहिनीमाथि गोली चलेकोमा आफूलाई कति पीडा भइरहेछ। बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन्– दोष ती मान्छेको थियो, जसले गोली खाए। जवाफदेहिता भए राजीनामा देऊ।”