काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले एक जना व्यक्तिलाई जेल हाल्ने सम्मको धम्की दिएको भिडियो सार्वजनिक भएको छ ।
खनालले आफ्नै मतदातामाथि रुखो व्यवहार गर्दै यस्तो धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आफ्नो भाषण सुन्न आएका मतदाताले प्रश्न उठाएपछि खनालले प्रमाण देखाउन चेतावनी दिँदै धम्क्याएको भिडियोमा देखिन्छ।
उनले आफूलाई प्रश्न सोध्नेलाई भनेका छन्, ‘कल्ले भन्यो, प्रमाण छ ? हाल्छु, जाक्छु समाताेर अनि थाहा हुन्छ । कल्ले भन्यो, कल्ले भन्यो ? यस्ता मान्छेलाई त तपाईंले सदस्यमा राख्नुभएको छ ।’
त्यसपछि अन्य कार्यकर्ता ती प्रश्न सोध्नेमाथि कडा शैलीमा प्रस्तुत हुन्छन् । र फेरि खनाल बोल्छन्, ‘यस्तो पदलाई लापरबाही गर्ने तपाईं ?’
खनालको धम्की पाउने व्यक्ति कैलालीको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापा रहेका छन् । खनालकै निर्वाचन क्षेत्र लम्कीमा आयोजित कार्यक्रममै उनले धम्की दिएका हुन् ।कार्यक्रममा सदस्य थापाले ‘लम्कीका मेयरलाई पक्राउ गर्न खोज्दा तपाईंले रोकेको हो भन्ने छ नि ? भन्दै सांसद खनाललाई प्रश्न गरेका थिए ।