काटमाण्डौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सङ्घीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति र व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीले निर्देशन जारी गरी आफ्ना परिवारका सदस्य र आफन्तलाई स्वकीय सचिव नराख्न निर्देशन दिएको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशनअनुसार स्वकीय सचिवमा नातावाद र परिवारवाद पूर्ण निषेध गरिएको छ ।
आफ्ना एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाउने पार्टीले स्पष्ट निर्देशन दिएको छ । स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्डमा भनिएको छ, ‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।’
साथै स्वकीय सचिवका लागि संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता स्नातक तह वा सोसरहको उत्तीर्ण) अनिवार्य रूपमा हासिल गरेको हुनुपर्ने रास्वपाले जनाएको छ।
स्वकीय सचिव नियुक्ति गर्दा सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्यमान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिन सांसदहरूलाई भनिएको छ।
-1784870792.jpeg)
