काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार साउन अन्तिम साता उनी बेइजिङ प्रस्थान गर्ने तयारी छ। दुई देशका राजनीतिक दलहरूबीचको पारस्परिक सम्बन्धसुदृढ गर्ने उद्देश्यले हुन लागेको यो पाँच दिने भ्रमणका क्रममा सभापति लामिछानेले चीनको उच्च राजनीतिक नेतृत्वसँग महत्वपूर्ण द्विपक्षीय छलफल गर्ने तय भएको छ।
भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीका साथै चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटवार्ता हुने पक्कापक्की भएको स्रोतले जनाएको छ। यसअघिको संसद् कार्यकालमै भ्रमणको निमन्त्रणा पाएका लामिछानेले यसपटक नेपाल–चीन सम्बन्धलाई अझ गहिरो, सन्तुलित र अर्थपूर्ण बनाउने मुख्य एजेन्डासहित छलफल अगाडि बढाउनेछन्। यो भ्रमण नितान्त दलीय तहमा हुने भएकाले टोलीमा कुनै पनि सरकारी प्रतिनिधि सामेल हुने छैनन्।
यसअघि छिमेकी मुलुक भारतको नयाँ दिल्ली भ्रमण गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च नेतृत्वसँग भेटवार्ता गरेर फर्किएका लामिछानेले चीनमा पनि सोही प्रकृतिको उच्चस्तरीय भेटवार्ता गर्ने रणनीति बनाएका छन्। भ्रमण टोलीमा सहभागी हुने रास्वपाका अन्य तीन जना सदस्यहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।