काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनापछि मुलुकले हासिल गरेका उपलब्धिलाई नियोजित रूपमा कमजोर देखाउने र भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासलाई केही शक्तिले जानाजान नकारात्मक रूपमा चित्रण गरिरहेको आरोप लगाए। उनले गणतन्त्रपछिको अवधिमा सडक, पुल, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको भए पनि ती उपलब्धिलाई अवमूल्यन गर्ने र जनतामाझ गलत सन्देश प्रवाह गर्ने प्रयास भइरहेको बताए।
प्रचण्डले पुष्पलाल स्मृति दिवस केवल श्रद्धाञ्जली व्यक्त गर्ने दिन मात्र नभई गणतन्त्र, परिवर्तन र पुष्पलालले अघि सारेका विचारमाथि भइरहेको प्रतिगामी आक्रमणविरुद्ध नयाँ अभियान सुरु गर्ने अवसरका रूपमा आफूहरूले लिएको बताए। उनले वर्तमान परिस्थितिमा लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै परिवर्तनविरोधी गतिविधिको सशक्त प्रतिवाद गर्न आवश्यक रहेको उल्लेख गरे। प्रचण्डले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक सुदृढीकरणलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध प्रभावकारी रूपमा संघर्ष गर्न नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहिरो अध्ययन तथा अनुसन्धान आवश्यक छ।