सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो।
दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै असार ३२ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावलाई पास गराउन संसदीय दल एकजुट भएर अगाडि बढ्ने भएको छ।
यसअघि नेपाली कांग्रेसका चार जना मन्त्रीले सरकारबाट राजीनामा दिएपछि कांग्रेसका ५ र नेकपाका ११ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठन वा ढाल्नका लागि २१ सांसदको समर्थन आवश्यक पर्दछ। प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपाका १४, नेकपा (एमाले) का १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र एक जना स्वतन्त्र सांसद रहेका छन्।