काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रमा देखिएका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ। मन्त्रालयले बिहीबार दिउँसो ३ बजे आयोजना गर्ने उक्त छलफलका लागि नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघलाई पत्राचार गर्दै ३ जना महिला पदाधिकारीसहित ६ जना प्रतिनिधि उपस्थित हुन पत्राचार गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयको सभाहलमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने मुख्य उद्देश्यका साथ यो छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै, मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ सम्बन्धी व्यवस्थाका साथै शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित समसामयिक विषयहरूमा सरोकारवालाहरूबाट रचनात्मक सुझावसमेत संकलन गरिनेछ।
शिक्षामन्त्री पोखरेलले पछिल्लो समय शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला, शैक्षिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग निरन्तर संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई प्राथमिकता दिँदै आएको मन्त्रालयले जनाएको छ।
