काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा परम्परागत सीपको पुस्तान्तरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने प्रस्तावप्रति सरकार सकारात्मक रहेको जानकारी दिए।
छलफलका क्रममा महासङ्घका प्रतिनिधिहरूले हस्तकला क्षेत्रको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका थिए। उनीहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकतामा राखेको महसुस भएको उल्लेख गर्दै आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा साझेदारी गर्न इच्छुक रहेको धारणा राखे।
महासङ्घले हाल आफ्नै पहलमा मङ्सिर २८ गते मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय दिवसका रूपमा घोषणा गरी सरकारी स्तरबाट मनाउन माग गरेको थियो। सो विषयमा प्रधानमन्त्री शाहले तत्काल गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिएको बताइएको छ।