काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान मुलुकको जटिल राजनीतिक परिस्थितिबाट देशलाई निकास दिन प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ’राष्ट्रिय मेलमिलाप र एकताको नीति’लाई पुनः आत्मसात् गर्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
नेता कोइरालाले बीपीको विचारलाई व्यवहारमा उतार्न सर्वप्रथम पार्टीभित्रै आन्तरिक एकता कायम हुनुपर्ने र त्यसपछि राष्ट्रिय हितका साझा मुद्दामा सबै राजनीतिक शक्तिहरूबिच उच्चस्तरीय सहमति र एकता आवश्यक रहेको बताए।
उनले भने, “प्रजातन्त्र र राष्ट्रियतालाई सँगसँगै अघि बढाउने बीपीको दूरदर्शी विचार आज पनि उत्तिकै सान्दर्भिक छ। देशलाई विद्यमान सङ्कटबाट जोगाउन र राजनीतिक स्थायित्व दिन सबै दलहरू राजनीतिक खिचातानीबाट माथि उठेर बीपीको मेलमिलापको नीतिमा आउनुपर्छ।”
अन्तरक्रियाका क्रममा डा. कोइरालाले बीपी कोइरालाको राष्ट्रप्रेम, त्याग, सिद्धान्त निष्ठा र साहसिक राजनीतिक यात्राको स्मरण गरे। उनले नयाँ पुस्ता, युवा तथा विद्यार्थीहरूलाई बीपीले देश र प्रजातन्त्रका लागि भोगेको कठिन सङ्घर्ष, त्याग र इतिहास बुझ्न सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयको भ्रमण गर्न आग्रह गरे।
कांग्रेसभित्र बीपीको विचार र नीतिलाई निष्ठापूर्वक कार्यान्वयन गर्नुपर्ने आवाज उठिरहेका बेला स्मृति दिवसको अवसरमा डा. कोइरालाको यो भनाइलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।