काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको घोषणा गरेका छन्।
जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी सन्देशमा उनले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिशोधको राजनीतिविरुद्ध सबै लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेका हुन्।
देउवाले बिपी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापको उनको विचार आज पनि आफ्नो राजनीतिक यात्राको मार्गदर्शक रहेको बताएका छन्।
बिपीको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य र जनअधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नबदलिएको बताएका छन्।

