काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले केवल नीतिगत स्पष्टताले मात्र पार्टीले समयको नेतृत्व गर्न नसक्ने बताएका छन्। बदलिँदो राजनीतिक र सामाजिक परिवेशअनुसार व्यवहारिक कार्यशैलीमा समेत परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।
मंगलबार काठमाडौंमा कांग्रेसका महामन्त्री गुरु घिमिरेद्वारा लिखित बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै आङ्देम्बेले पार्टीले नीति र व्यवहार दुवैमा सुधार गर्न सके मात्रै जनअपेक्षाअनुसार नेतृत्व गर्न सक्ने बताए। उनले वर्तमान राजनीतिक परिस्थितिले पनि नीति मात्र पर्याप्त नहुने, त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नुपर्ने सन्देश दिएको उल्लेख गरे। पार्टीले समयको मागअनुसार आफूलाई रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए। आङ्देम्बेले कांग्रेसका नीति तथा कार्यक्रम मुलुक र नागरिकका वास्तविक आवश्यकता तथा समस्याको समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखे। साथै, वर्तमान राजनीतिक अभ्यास अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै त्यसप्रति चिन्ता व्यक्त गरे। उनले जनविश्वास कायम राख्न पार्टीले सिद्धान्तसँगै व्यवहारमा पनि सुधार गर्दै जिम्मेवार र प्रभावकारी नेतृत्व प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए।