काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। उनले उक्त निर्णयलाई सकारात्मक र व्यावहारिक कदमको संज्ञा दिँदै यसबाट सर्वसाधारणले राहत पाउने विश्वास व्यक्त गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हटाउने सरकारको निर्णय उचित भएको बताए। उनले सरकारले समयमै निर्णय सच्याएको भन्दै त्यसको स्वागत गरे। थापाले नेपालको वर्तमान शिक्षा र स्वास्थ्य प्रणालीमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै तत्काल निजी क्षेत्रलाई पूर्ण रूपमा अलग गरेर सेवा प्रवाह गर्ने अवस्था नरहेको बताए। त्यसैले निजी सेवा उपयोग गर्ने नागरिकमाथि अतिरिक्त कर लगाएर अन्य वर्गलाई सहयोग गर्ने अवधारणा सुरुदेखि नै व्यावहारिक नभएको नेपाली कांग्रेसको धारणा रहेको उनले स्पष्ट पारे। उनले सरकारले यथार्थलाई आत्मसात् गर्दै समता कर खारेज गरेको उल्लेख गर्दै यस निर्णयले सेवा प्रदायक संस्था र सेवाग्राही दुवैलाई राहत पुग्ने विश्वास व्यक्त गरे।