काठमाडौं । केन्द्रीय राजनीतिक समीकरण फेरिने चर्चाबीच नेकपा एमाले वाग्मती प्रदेश सरकारबाट तत्काल बाहिरिने सम्भावना टरेको छ ।
काठमाडौंको कोटेश्वरमा बसेको एमाले वाग्मती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग वाग्मती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्णय नआएसम्म एमालेका मन्त्रीहरूले राजीनामा नदिने प्रस्ट पारे ।
उनले पछिल्लो समय सञ्चारमाध्यम र राजनीतिक वृत्तमा फैलिएको मन्त्रीहरूको राजीनामासम्बन्धी चर्चा अनुमान र हल्लामात्र भएको बताए । पौडेलका अनुसार हाल वाग्मती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन यथावत् छ । केन्द्रमा नयाँ राजनीतिक समीकरणबारे छलफल भइरहे पनि त्यसको प्रभाव प्रदेश सरकारमा तत्काल नपर्ने उनले संकेत गरे ।
पछिल्ला दिनमा मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँट तथा बिनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको विषयमा उठेका विवादबारे पनि पार्टी नेतृत्व तहमा छलफल भइरहेको उनले बताए । त्यससम्बन्धी निर्णय एक/दुई दिनभित्र टुंगो लाग्ने उनको भनाइ छ ।