काठमाडौं – प्रदेश सरकारको सत्ता समीकरण फेरि बदलिने संकेत देखिएको छ। नेपाली कांग्रेसलाई प्रदेश सरकारबाट बाहिर पार्ने गरी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी, नेकपा बीच नयाँ गठबन्धनको गृहकार्य सुरु भएको उच्च राजनीतिक स्रोतले जनाएको छ।
स्रोतका अनुसार कांग्रेस–एमालेबीच प्रदेश तहमा बढ्दो अविश्वासपछि एमालेले माओवादी केन्द्रसँग समानान्तर संवाद अघि बढाएको हो। दुवै दलका नेताबीच प्रदेश सरकारको नयाँ अंकगणित, मुख्यमन्त्रीको बाँडफाँट र सरकार गठनका सम्भावित विकल्पबारे छलफल भइरहेको बताइएको छ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीलाई हटाइसकेको छ भने कर्णालीमा पनि सत्ता समीकरण परिवर्तनको प्रक्रिया अघि बढेको छ। अन्य प्रदेशमा समेत वर्तमान गठबन्धन टिकाउने सम्भावना कमजोर बन्दै गएको राजनीतिक वृत्तको भनाइ छ।
सत्ता समीकरण परिवर्तनको यो प्रयास सफल भए नेपाली कांग्रेस प्रदेश सरकारबाट बाहिरिने अवस्था सिर्जना हुन सक्छ। त्यसको प्रत्यक्ष राजनीतिक असर कांग्रेसका महामन्त्री गगन थापामाथि पर्ने आकलन गरिएको छ। प्रदेश सरकारमा कांग्रेसको प्रभाव घटाउने गरी एमाले र माओवादी केन्द्रले साझा रणनीति बनाइरहेको स्रोतको दाबी छ।
यद्यपि एमाले र माओवादी केन्द्रले प्रदेश सरकार गठनबारे कुनै औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्। दुवै दलबीच संवाद जारी रहेको र आवश्यक संख्यात्मक अवस्था बनेपछि मात्रै नयाँ गठबन्धनको औपचारिक घोषणा हुन सक्ने स्रोतको भनाइ छ।
प्रदेश सरकारको बदलिँदो सत्ता समीकरणले संघीय राजनीतिमा समेत नयाँ तरंग सिर्जना गर्ने देखिएको छ। आगामी केही दिनभित्र विभिन्न प्रदेशमा सरकार परिवर्तनका गतिविधि तीव्र हुन सक्नेछ।