काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । श्रीलंकाको पाँचदिने भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेका थिए ।
भ्रमणका क्रममा उनले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै उद्घाटन तथा समापन दुवै सत्रलाई सम्बोधन गरे । उद्घाटन सत्रमा उनले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एशियाली जनआन्दोलनहरूको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।
समापनमा एशियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र साझा संघर्षलाई अझ सुदृढ बनाउन अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए ।