काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं पार्टी सचिव पद्मा अर्यालले वर्तमान राजनीतिक परिस्थितिमा संसद्को भूमिकालाई थप सशक्त, तार्किक र जनमुखी बनाउनुपर्नेमा जोड दिएकी छन्। आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘संसद्को भूमिकालाई प्रभावकारी बनाउने’ विषयमा आयोजित सांसदहरूको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।
उपनेता अर्यालले संसद्लाई केवल औपचारिकतामा मात्र सीमित नराखी जनताका आवाज र समस्याहरू सरकारसमक्ष पु¥याउने तथा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने सशक्त मञ्चका रूपमा स्थापित गर्नुपर्ने बताइन्।
अन्तरक्रियामा सांसदहरूलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेकी अर्यालले भनिन्, “हामी अहिलेको विशेष अवस्थाको संसद्लाई विशेष नै बनाउन चाहन्छौँ। त्यसका लागि हाम्रा प्रयत्न र क्रियाशीलता मात्र पूर्ण हुँदैनन्, यसमा सबै माननीय सदस्यहरूको सामूहिक साथ र गहन अध्ययनको उत्तिकै आवश्यकता रहन्छ।”
उनले संसद्मा पार्टीका तर्फबाट प्रस्तुत हुने दृष्टिकोणहरू सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा स्पष्ट हुनुपर्ने र सांसदहरूको प्रस्तुति बौद्धिक, तार्किक एवं तथ्यमा आधारित हुनुपर्ने धारणा राखिन्।