काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेर घाइते भएका छन्।
कांग्रेस स्रोतका अनुसार गत साता शौचालयमा लड्दा उनको दायाँ हात भाँचिएको हो। घटनापछि देउवालाई तत्काल स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो। प्रारम्भिक उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् भने हाल चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका छन्।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित निगरानीमा स्वास्थ्य लाभ गरिरहेको स्रोतले जनाएको छ। देउवा यसअघि पनि स्वास्थ्य उपचारका लागि पटक–पटक विदेश गएका छन्। गत फागुन १३ गते नियमित स्वास्थ्य परीक्षणका लागि उनी स्वकीय सचिवसमेत रहेका भतिजा भानु देउवासँग सिंगापुर गएका थिए।
त्यसभन्दा अघि गत भदौमा जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा उनी घाइते भएका थिए। घटनामा घाँटीमा चोट लागेपछि उपचारका लागि कात्तिक १० गते पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित सिंगापुर गएका थिए। उपचारपछि उनी कात्तिक २८ गते स्वदेश फर्किएका थिए।
पछि आरजु राणा भारतबाट सिंगापुर पुगेपछि देउवा दम्पती चैतमा हङकङ गएका थिए। त्यतिबेला देउवाको सचिवालयले थप स्वास्थ्य परीक्षण तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनीहरू हङकङ गएको जनाएको थियो।