काठमाडौँ । लामो समयदेखि न्यायको माग गर्दै आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने अन्तिम तयारी भएको छ। सिमरामा गृहमन्त्री र पीडितका प्रतिनिधिहरू बिच भएको महत्त्वपूर्ण मौखिक सहमतिलाई कानुनी एवं संस्थागत रूपमा लिखित सम्झौतामा ढालेर आन्दोलन टुङ्ग्याउने तयारी गरिएको हो।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता केही बेरअघि सुरु भएको छ।
यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच सकारात्मक छलफल भएको थियो। हिजोको सोही छलफलमा जुटेका सहमतिका बुँदाहरू र कानुनी परामर्शलाई जग मानेर आज अन्तिम सम्झौताको मस्यौदा तयार गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिएका छन्। आजको बैठकमा सोही मस्यौदामाथि अन्तिम पुनरावलोकन गरी दुवै पक्षले हस्ताक्षर गर्ने कार्यक्रम छ।