बुटवल । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकारलाई पनि धक्का लाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकार हाल एमालेका चेतनारायण आचार्यको नेतृत्वमा छ । कांग्रेस केन्द्रको निर्णयसँगै प्रदेशसभाको अंकगणित र दलहरूबीचको राजनीतिक गतिविधिले नयाँ सत्ता समीकरण बन्ने संकेत देखिएको छ ।
कांग्रेसले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने र समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मन्त्री तथा प्रमुख नेताहरूको बैठक बोलाएका छन् । आजै दिउँसो ३ बजे बस्ने बैठकले सरकारमा रहने वा बाहिरिने विषयमा औपचारिक निर्णय गर्ने कांग्रेस एक सांसदले बताए ।
हाल मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरणमन्त्री देवकरण कलवार सहभागी छन् ।