काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बिचौलिया बेचन झा दुई वर्षको कारागार बसाइपछि बुधबार केन्द्रीय कारागार रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले मंगलाबार मात्रै उक्त मुद्दामा फैसला सुनाउँदै झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय तोकेको थियो।
अदालतले तोकेको सजाय अवधिभन्दा झाको कैद बसाइ अवधि दोब्बर बढी भइसकेकाले कानुनी प्रक्रिया पूरा गरी उनलाई बुधबार रिहा गरिएको हो।
काठमाडौँ जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार झालाई कैदमुक्त गर्नका लागि अदालतले मंगलबार राति नै कारागार प्रशासनलाई आधिकारिक पत्र पठाइसकेको थियो। झालाई २०८१ असार १४ गते प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै अदालतको आदेशानुसार उनी पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा रहँदै आएका थिए।
अदालतले झालाई ठगी उद्योगको कसुरमा दोषी ठहर गर्दै एक वर्षको सजाय सुनाए पनि उनले २ वर्ष अगाडिदेखि नै थुनामा बिताएकाले थप कैद बस्नु नपर्ने कानुनी व्यवस्था अनुसार उनी छुटेका हुन्।