काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री संसदप्रति जिम्मेवार बन्नुपर्ने भन्दै प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिन आग्रह गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले प्रतिनिधिसभा नियमावलीले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न माग गरिन्। उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनिन्, सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंप्रति देशभरका युवाले ठूलो अपेक्षा राखेका थिए। त्यही विश्वासका आधारमा तपाईं देशको नेतृत्वमा पुग्नुभएको हो। त्यो विश्वास केवल एउटा व्यक्तिमाथिको होइन, समग्र युवा नेतृत्वमाथिको भरोसा थियो। तर पछिल्ला घटनाक्रमले त्यो आशा क्रमशः निराशामा बदलिँदै गएको अनुभूति भइरहेको छ।
गुरुङले सरकारले गम्भीर सार्वजनिक सरोकारका विषयमा स्पष्ट धारणा र जवाफ दिनुभन्दा विषयान्तर गर्ने तथा लोकप्रियता खोज्ने गतिविधिमा केन्द्रित भएको आरोपसमेत लगाइन्। सुकुम्बासी बस्ती हटाउने क्रममा पर्याप्त पूर्वतयारी नगरी प्रभावित परिवारलाई डुबानको जोखिमयुक्त स्थानमा सारिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन्। सुकुम्बासी व्यवस्थापनमा संवेदनशीलता नदेखाउँदा नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिन्। उनले बस्ती हटाइएपछि भएका आत्महत्याका घटनालाई राज्यको कमजोर नीतिको परिणाम भएको टिप्पणी गर्दै प्रभावित परिवारको संरक्षण, राहत र पुनःस्थापनामा सरकारले गम्भीरता देखाउनुपर्ने बताइन्।
सांसद गुरुङले पछिल्लो समय युवामा बढ्दो निराशा, आत्मदाहका प्रयास तथा आत्महत्याका घटनाले सरकारको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाएको धारणा राखिन्। मुगु, सर्लाही, रौतहट तथा काठमाडौंका घटनाको उदाहरण दिँदै उनले युवाले आफ्नै देशमा भविष्य नदेख्ने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको बताइन्। उनले मुलुकमा बढ्दो महँगी, आर्थिक सुस्तता, वैदेशिक रोजगारीप्रतिको निर्भरता, नागरिक सुरक्षामाथिको चुनौती तथा अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब बढिरहेको आरोप लगाउँदै कर्णाली, दलित, मधेसी, महिला, जनजाति र अन्य सीमान्तकृत समुदायले राज्यबाट असुरक्षाको अनुभूति गरिरहेको दाबी गरिन्।