काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकार र उनको कार्यशैलीलाई लिएर चर्को आलोचना र विरोध गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आकस्मिक रूपमा संसद् बैठकमा सहभागी भएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठक जारी रहँदै गर्दा प्रधानमन्त्री बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै बैठक कक्षभित्र प्रवेश गरेका हुन्।
विपक्षी दलहरूले गत जेठ १७ गते प्रधानमन्त्री बालेनले सीमा विवादका सन्दर्भमा दिएको ’नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने विवादित अभिव्यक्तिलाई लिएर संसद्मा लगातार विरोध जनाउँदै आएका छन्। प्रतिपक्षी सांसदहरूले उक्त अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको भन्दै त्यसलाई संसद्को रेकर्ड (अभिलेख) बाट तत्काल हटाउनुपर्ने र यसबारे स्वयं प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका थिए।
मंगलबारको बैठकको सुरुवातमै प्रतिपक्षी सांसदहरूले सुकुम्बासी समस्या, गणेश नेपालीको आत्मदाह घटना र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर आसनबाट उठेर विरोध जनाएपछि संसद्मा निकै तनावपूर्ण स्थिति सिर्जना भएको थियो। चौतर्फी रूपमा सरकारको आलोचना र संसद्भित्र दबाब बढेपछि प्रधानमन्त्री बालेन रास्वपा सभापति लामिछानेलाई साथमा लिएर संसद् भवन पुगेका हुन्।
प्रधानमन्त्रीको यो आकस्मिक उपस्थितिसँगै विपक्षी दलहरूले उठाएका प्रश्न र सीमा सम्बन्धी विवादित अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले आजै संसद्लाई सम्बोधन गर्न सक्ने अनुमान गरिएको छ।