काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग र उपराष्ट्रपति रामसहायप्रसाद यादव बिच राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार भेटवार्ता भएको छ ।
भेटका अवसरमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका एजेन्डा र तयारीबारे राष्ट्रपति पौडेललाई विस्तृत जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
उपराष्ट्रपति यादव मंगलबार नै कतारको राजधानी दोहातर्फ जाने कार्यक्रम रहेको छ । कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको दुःखद निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति त्यसतर्फ जान लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भ्रमणका क्रममा उपराष्ट्रपति यादवले कतारका वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीसँग भेट गर्नुहुने कार्यक्रम रहेको छ। सो भेटका अवसरमा उनले कतारी अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट पठाइएको औपचारिक शोक सन्देश हस्तान्तरण गर्ने बताइएको छ ।
नेपाल र कतारबिच रहिआएको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध र कतारको विकासमा नेपाली श्रमिकहरूले पु¥याएको योगदानका बिच, यो उच्चस्तरीय कूटनीतिक शोक भ्रमणलाई दुई देशबिचको आपसी सद्भाव र सामीप्यताका रूपमा महत्त्वपूर्ण मानिएको छ।