काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्मा दिएको विवादित अभिव्यक्ति अझै नसच्याएको भन्दै कडा असन्तुष्टि जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाउन पटक–पटक माग गरिए पनि त्यसतर्फ कुनै चासो नदिइएको बताए। ‘झण्डै दुई महिना पुग्न लाग्यो, एक महिनाभन्दा धेरै भइसक्यो। प्रधानमन्त्रीज्यूले रोस्ट्रमबाट दिनुभएको अभिव्यक्ति सच्याउनुपर्छ र अभिलेखबाट हटाउनुपर्छ भनेर माग गरिएको थियो। तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। बरु “ढुंगा बोल्छ, मान्छे बोल्दैन” भनेजस्तै अवस्था देखिएको छ,’ राईले भने।
उनले प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाको मेयर रहँदा सामाजिक सञ्जालमार्फत व्यक्त गरेका अभिव्यक्तिहरू स्मरण गर्दै अहिले पनि त्यस्ता भनाइले चिन्ता पैदा गरेको बताए। राईले प्रधानमन्त्रीले विगतमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यस्तो भनाइले राज्यका महत्वपूर्ण संरचना र सार्वभौम संस्थाप्रति गलत सन्देश जाने टिप्पणी गरे। प्रधानमन्त्रीको भनाइ नियतवश नभई त्रुटिवश आएको भए पनि संसद्मा उपस्थित भएर सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने उनको धारणा थियो।
सांसद राईले वर्तमान सरकारले गरिब, श्रमिक, निमुखा नागरिक र साना व्यवसायीको हितमा अपेक्षित काम गर्न नसकेको आरोप लगाए। पठाओ राइडर, सुकुम्बासी तथा श्रमिक वर्गप्रति सरकार कठोर बनेको भन्दै उनले यस्तो व्यवहार अन्त्य गर्न आग्रह गरे। उनले राज्यका विभिन्न निकायमा लामो समयदेखि करार तथा श्रेणीविहीन कर्मचारीका रूपमा कार्यरत हजारौँ कर्मचारीको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराए। सर्वोच्च अदालतको आदेशअनुसार करार तथा अस्थायी कर्मचारीलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै उनले अदालतको आदेश कार्यान्वयन गर्नुको सट्टा सरकारले कम्पनी स्थापना गरेर नीतिगत भ्रष्टाचारतर्फ उन्मुख भएको आरोपसमेत लगाए।