भक्तपुर । अविरल वर्षा र डुबानका कारण समस्यामा परेका सुकुमबासी नागरिकहरूको अवस्था बुझ्न र उनीहरूका समस्या समाधानका लागि सरकारका मन्त्रीहरूको ‘जम्बो’ टोली भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेको छ।
शनिबार संसद्को रोस्ट्रममा भावुक बनेका गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा गएको मन्त्रीहरूको टोलीले खरिपाटी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी बस्तीका नागरिकहरूसँग प्रत्यक्ष भेटघाट र छलफल गरेको हो।
छलफलका लागि खरिपाटी पुगेको उक्त उच्चस्तरीय टोलीमा गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, र महिला, बालबालिका तथा अल्पसंख्यक मन्त्री सीता बादीसहित अन्य मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।
बाढी र उठिबासको चपेटामा परेका नागरिकहरू, विशेष गरी महिला, बालबालिका र अल्पसंख्यक समुदायको अवस्था र उनीहरूका आधारभूत आवश्यकता (गाँस, बास, शिक्षा र स्वास्थ्य) बुझ्न मन्त्रीहरू आफैँ सुरक्षित आश्रयस्थल पुगेका हुन्। छलफलका क्रममा सुकुमबासी नागरिकहरूले राज्यले आफूहरूलाई पटक–पटक सार्ने मात्र काम गरेको भन्दै स्थायी बसोबासको ग्यारेन्टी गर्न मन्त्रीहरूसमक्ष जोडदार माग गरेका छन्।
केही दिनदेखिको अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी र डुबान भएपछि त्यहाँ बस्दै आएका ३१ परिवारका ८९ जना सुकुमबासी नागरिकहरूलाई पनि आकस्मिक रूपमा खरिपाटीकै होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।