काठमाडौँ । पछिल्ला राजनीतिक र सामाजिक घटनाक्रमका कारण सरकारमाथि चौतर्फी आलोचना भइरहेका बेला राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ। गृहजिल्ला झापाबाट काठमाडौँ ओर्लनासाथ प्रसाईँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइए पनि प्रहरी हिरासतमा भने राखिएको छैन।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले प्रसाईँ एयरपोर्ट ओर्लनासाथ नियन्त्रणमा लिएर प्रहरीकै गाडीमा हालेका थिए। त्यसपछि उनलाई हिरासतमा नलगी भक्तपुरस्थित उनकै निजी निवास पु¥याएर छाडिएको छ।
प्रसाईँलाई विमानस्थलबाटै प्रहरीको गाडीमा राखेर घर पु¥याइनुको कारणबारे काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले स्पष्टीकरण दिए । विमानस्थलजस्तो संवेदनशील र निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नमिल्ने कानुनी प्रावधान रहेकाले उनलाई पत्रकारहरूसँग भेट्न र बोल्न नदिइएको एसपी भट्टराईले बताए ।
तर, भित्री स्रोतका अनुसार देशमा विकसित पछिल्ला संवेदनशील घटनाक्रममा सरकारमाथि जनआक्रोश बढिरहेका बेला प्रसाईँले विमानस्थलमै उत्तेजक र आक्रामक अभिव्यक्ति दिएर माहोललाई थप भड्काउन सक्ने उच्च जोखिम रहेकाले प्रहरी प्रशासनले उनलाई सिधै घर पु¥याइदिएको बुझिएको छ।