काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले झापाको रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइले स्थानीय बासिन्दा, विशेषगरी विद्यालय जाने बालबालिका, दैनिक जोखिम मोल्न बाध्य भएको भन्दै तत्काल पुल निर्माण गर्न सरकारसँग माग गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा–२ अन्तर्गत कजुवे–रातेखाल क्षेत्रमा हालैको बाढीपछि समस्या झनै गम्भीर बनेको बताइन्। तीन वर्षअघि नै पुल निर्माणका लागि बजेट विनियोजन भए पनि काम अघि नबढेको र स्थानीयले २० लाख रुपैयाँ संकलन गरेर निर्माणको प्रयास गर्दा पनि प्राविधिक मापदण्डका कारण योजना रोकिएको उनले जानकारी दिइन्। राना मगरका अनुसार पुल नहुँदा खोला तरेर विद्यालय जानुपर्ने बाध्यताका कारण विगतमा धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन्।
आफू स्थलगत निरीक्षणमा पुगेकै दिन १० वर्षीय एक बालक साइकलसहित खोलामा खसेको र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको घटना उनले सदनमा सुनाइन्। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै स्थानीयको ज्यान सुरक्षाका लागि रातेखालमा तत्काल पुल निर्माणको प्रक्रिया अघि बढाउन माग गरिन्। त्यसैगरी, सांसद राना मगरले मुगुका गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि नेपाली नागरिकले आत्मदाहजस्तो चरम निर्णय लिनुपर्ने अवस्था दोहोरिन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याइन्।