काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले सरकारले विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै शासन सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आफूलाई तीव्र गतिमा अघि बढिरहेको देखाउन खोजे पनि संस्थागत प्रक्रिया र कानुनी अभ्यासलाई पर्याप्त महत्व नदिएको टिप्पणी गरे। सरकारको कार्यशैलीलाई उदाहरण दिँदै उनले भने, “सरकारले आफूलाई हाइवेमा तीव्र गतिमा गुडिरहेको एक्सप्रेस गाडीसँग तुलना गरिरहेको छ। तर त्यो यात्रामा विधि–विधानको लेन मार्किङ वा नियमको संकेतलाई वास्ता गरिएको देखिँदैन।” डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताबारे भइरहेको बहसलाई जोड्दै उनले सरकारको निर्णय प्रक्रिया स्वतन्त्र छ कि छैन भन्ने प्रश्नसमेत उठाए। “सरकार प्रमुख चालकको सिटमा हुनुहुन्छ, तर कतै त्यो गाडी कसैको सफ्टवेयर वा अल्गोरिदमले ‘अटो ड्राइभ’मा त सञ्चालन गरिरहेको छैन ?” भन्दै उनले सरकारको निर्णय प्रणालीप्रति शंका व्यक्त गरे।
सांसद हमालले सुशासनको नारासहित गठन भएको सरकारले व्यवहारमा भने प्रतिशोधको राजनीति गरेको आरोप लगाए। सरकारका केही गतिविधिले नागरिकमा त्रास सिर्जना गरेको उनको भनाइ थियो। उनले सरकार ‘पहिला थुन्ने, पछि जे पर्छ त्यही हेर्ने’ भन्ने शैलीमा अघि बढेको जस्तो देखिएको टिप्पणी गर्दै यसले विधिको शासन र न्यायिक प्रक्रियामाथि प्रश्न उठाएको बताए। सुशासन केवल प्रतिपक्षका लागि मात्र नभई सरकार प्रमुख, मन्त्री र सत्तापक्षका सांसदहरू पनि पारदर्शी र जवाफदेही हुनुपर्ने विषय भएको उल्लेख गर्दै उनले सरकारले विधिको शासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।