काठमाडौँ । अप्सना बानु ले गृहमन्त्रालयसँग सम्पर्क गर्न खोज्ने नागरिकले सहज पहुँच नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको गृहमन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नउठाउने वा कुनै प्रतिक्रिया नदिने गुनासा बारम्बार आउने गरेको बताइन्। उनका अनुसार नागरिकले समस्या लिएर सम्बन्धित निकायमा सम्पर्क गर्दा नै बेवास्ता हुने अवस्था सिर्जना हुनु गम्भीर विषय हो। सरकारले जनताका गुनासा सुन्ने र समाधान खोज्ने जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनले उल्लेख गरिन्।
सांसद बानुले सम्बन्धित मन्त्रालय वा निकायबाट गैरजिम्मेवार व्यवहार हुँदा नागरिकको राज्यप्रतिको विश्वास कमजोर बन्ने भन्दै यस्तो प्रवृत्तिमा सुधार आवश्यक रहेको धारणा राखिन्। त्यसैगरी, उनले रवि लामिछाने ले जेन्जी जनआन्दोलनसँग सम्बन्धित विषयलाई गम्भीरतापूर्वक लिएर समाधानका लागि गरेको पहलको प्रशंसा गरिन्। उनले उक्त पहलले युवाहरूमा राज्यप्रति विश्वास बढाउने वातावरण सिर्जना गरेको उल्लेख गर्दै संवाद र सहकार्यमार्फत समस्याको समाधान खोज्ने प्रयास सकारात्मक रहेको बताइन्।