काठमाडौँ । खुस्बु ओली ले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानसँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै त्यसबारे संसदमै आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइका कारण आफूहरू यो विषय उठाउन बाध्य भएको बताइन्। उनका अनुसार यो कुनै राजनीतिक रहर नभई राष्ट्रिय हितका कारण उठाइएको विषय हो। उनले संसदको नियमित कामकारबाही अवरुद्ध नहोस् र जनताका सरोकारका विषय ओझेलमा नपरून् भन्ने उद्देश्यले आफूहरूले संयमता अपनाएको भए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको टिप्पणी गरिन्। सांसद ओलीले प्रधानमन्त्रीका अभिव्यक्ति व्यक्तिगत विचारमा सीमित नहुने बताउँदै त्यस्ता भनाइले सरकारको आधिकारिक धारणा प्रतिनिधित्व गर्ने उल्लेख गरिन्।
त्यसैले राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्रीले बोलेका प्रत्येक शब्दको विशेष महत्व हुने उनको भनाइ थियो। उनले नेपालका सीमा र भू–भागसँग सम्बन्धित विषयमा गरिने अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानसँगै अन्तर्राष्ट्रिय समुदायमा जाने सन्देशसमेत निर्धारण गर्ने बताइन्। सीमा भनेको नक्साको रेखा मात्र नभई इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय भएको उनको धारणा थियो। यसै कारण प्रधानमन्त्रीले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे संसदमै उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने र सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग उनले दोहोर्याइन्।