काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज निर्माण व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्। निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्ने प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजेदेखि सुरू हुनेछ। छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन्।
प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार छलफल सरकार र निर्माण व्यवसायीबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ।
मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने उदेश्यले बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए ।