काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग जोडदार माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवेदीले ग्यासको अभावका कारण आम नागरिकको दैनिक भान्सा प्रभावित भएको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद सुवेदीले विगत केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूबाट ग्यास नपाएर सास्ती खेप्नुपरेको गुनासो निरन्तर आइरहेको संसद्लाई जानकारी गराएका हुन । बैठकमा बोल्दै उनले भने, “ग्यासको यो अभावले सर्वसाधारणको घरपरिवारमा खाना पकाउने समस्या मात्र सिर्जना गरेको छैन, बजारका होटल, रेस्टुरेन्ट तथा अन्य साना व्यवसायहरूको नियमित सञ्चालनमा समेत गम्भीर असर पारेको छ। यसले समग्र आर्थिक गतिविधिमै मन्दी थप्ने काम गरेको छ।”
ग्यास जस्तो अत्यावश्यक वस्तुको आपूर्ति शृङ्खलामा देखिएको अवरोधलाई सरकारले तत्कालै हटाउनुपर्ने उनको भनाइ थियो। बजारमा ग्यासको कृत्रिम अभाव वा कालोबजारी भएको भए त्यसमाथि कडा अनुगमन गर्न र ग्यासको सहज, नियमित एवं पर्याप्त आपूर्ति सुनिश्चित गर्न उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
मनसुनको समयमा ढुवानीमा आउन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै सरकारले बेलैमा ग्यासको भण्डारण र वितरण प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा प्रतिपक्षी र सत्तारुढ दुवै पक्षका सांसदहरूले आवाज उठाउँदै आएका छन्।