काठमाडौँ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा भनाभन र नियमापत्ति भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। सभाको बैठकका क्रममा सांसद राजेन्द्र कुमार राईले बोल्ने क्रममा संसद् र सभामुखको मर्यादा विपरीत शब्द प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएपछि बैठक स्थगित गरिएको हो।
बैठकमा सभामुखले सांसद राजेन्द्र कुमार राईलाई बोल्नका लागि समय उपलब्ध गराएका थिए। एनले आफ्नो भनाइ राख्ने क्रममा आसनतर्फ लक्षित गर्दै “तपाई कान सुन्नु हुन्छ कि हुँदैन ?“ भनी प्रश्न गरेका थिए ।
उक्त भनाइले सार्वभौम संसद् (सभा) र सभामुखको पदीय गरिमाको गम्भीर अपमान भएको भन्दै सत्तापक्षका सांसद् टिका संग्रौलाले तत्काल नियमापत्ति जनाएका थिए। आसनको अपमान भएको ठहर गर्दै सभामुखले राईलाई बाँकी रहेको समय बोल्न नदिने र समय सकिएको घोषणा गरेपछि संसद्मा प्रतिपक्षका सांसदले विरोध जनाएका छन् ।
सभामुखले सांसद राईलाई बाँकी समय बोल्न रोक लगाएपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरूले आसनको निर्णयको विरोध गरेका छन् । संसद् बैठकलाई थप अगाडि बढाउन नसकेपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन् ।