काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास जगाउन आज उद्योगी तथा व्यवसायीहरूसँग विशेष छलफल गर्ने भएका छन् ।
गत चैत १३ गते जेनजी आन्दोलनपश्चात् देशको प्रधानमन्त्री बनेका शाहले कार्यभार सम्हालेपछि पहिलोपटक निजी क्षेत्रका प्रमुख छाता संगठनका नेतृत्वलाई औपचारिक छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने यस उच्चस्तरीय बैठकमा देशको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रका चुनौती र आगामी सरकारी योजनाबारे सघन संवाद हुनेछ। प्रधानमन्त्रीसँगको छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ।
बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालसहितका शीर्ष पदाधिकारीहरू सहभागी हुनेछन्।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीबाट निजी क्षेत्रको आवाज र समस्या सुन्नका लागि छलफल बोलाइएको बताए । “हामीलाई छलफलका लागि खबर आएको छ र हामी आवश्यक एजेन्डाहरूसहित त्यसमा जाने तयारीमा छौँ,“ उनले भने ।
यसअघि प्रधानमन्त्री शाहका सल्लाहकार अशिम साहले संविधान संशोधन लगायतका विषयमा निजी क्षेत्रसँग प्रारम्भिक संवाद गरेका थिए । आजको मुख्य बैठकमा भने वर्तमान सरकारले गरेका काम, आगामी आर्थिक रणनीति, निजी क्षेत्रलाई दिइने प्राथमिकता, बजारको सुस्ती हटाउने उपाय र लगानीमैत्री वातावरण निर्माणका विषयमा छलफल हुने व्यवसायीहरूको बुझाइ छ।
लामो समयदेखि बजार सुस्ताएको र व्यवसायीहरूको मनोबल खस्किएको अवस्थामा प्रधानमन्त्री बालेन शाह र निजी क्षेत्रबीच हुन लागेको यो पहिलो औपचारिक संवादलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।